प्रहारन्युज डेक्स

एआईजी जयबहादुर चन्दको जाँदाजाँदै एमालेलाई जवाफः दोहोरो चरित्र राम्रैसँग देखियो !

आज साँझबाट अनिवार्य अवकाश पाउन लागेका नेपाल प्रहरीका एआईजी जयबहादुर चन्दले २६ औं आईजीपी प्रकरणबारे नेकपा एमालेलाई व्यंग्य गरेका छन् । चन्दले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अचम्मको ! साँचिक्कै उदेकलाग्दो ! तिनीहरुको दोहोरो चरित्र राम्रैसँग देखियो यसपालिको नियुक्तिले ।’

उनले यो टिप्पणी ओली नेतृत्वको सरकारले दोस्रो र तेस्रो वरियतामा रहेका डीआईजीलाई आईजीपी बनाउन खोजेपछि लेखेका हुन् ।

आफूलाई सरकारले आईजीपी बनाउँदा तेस्रो नम्बरको विरोध गर्ने तर अहिले आएर दोस्रो, तेस्रो व्यक्तिलाई बनाउन खोज्ने प्रयास भएको प्रति उनले यस्तो लेखेका हुन् ।

यसमा उनले घुमाउरो पारामा राजीनामा दिएका डीआईजी रमेश खरेललाई पनि झटारो हानेको देखिन्छ । यसअघि खरेल एक नम्बरलाई आईजीपी बनाउनुपर्छ भन्दै पूर्वडीआईजी नवराज सिलवालको पक्षमा लागेको बताइएको थियो ।

यसअघि तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले जयबहादुर चन्दलाई २५ औं आईजीपी नियुक्ति गरेको थियो । तर, नियुक्ति गरेको ३ घण्टामै सर्वोच्च अदालतले चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि विवाद बढ्दै जाँदा प्रकाश अर्याल आईजीपी भएका थिए ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology