प्रहार न्युज

नेतालाई पैसा पुराउन नसक्ने आइजीपी बन्न सक्दैन : खनाल

नेतालाई बोरामा पैसा पुराउन नसक्दा इमान्दर प्रहरीहरु सेवाबाट छिट्टै नै बाहिरन परेका कैयौँ उदाहरणहरु छन् हाम्रो नेपालमा । तर धेरैले कुरा ओकल्दैनन् । तर केही अधिकारीहरु यस्ता हुन्छन् । जसले नेताहरुका भित्री कुरा समेत बाहिर बोल्न डराउँदैनन् । जसमध्येका एक हुन् पूर्व प्रहरी वरिष्ठ उपरिक्षक यादवराज खनाल । पूर्व प्रहरी वरिष्ठ उपरिक्षक यादवराज खनाल नेपाल प्रहरीका भर्खरै अवकाशप्राप्त अधिकारी हुन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पूर्व प्रहरी वरिष्ठ उपरिक्षक यादवराज खनालले बोरामा पैसा बोकी राजनीतिक दलका नेतृत्वकर्ताको ढोका चहार्न नसक्दा पदोन्नती र सेवा अवधिभरी काम गर्न नपाएको गुनासो गरेका छन् । उनी अगाडी लेख्छन् ,‘प्रहरी संगठनभित्र राजनैतिक पार्टीहरूको चरम हस्तक्षेप, नेतृत्वकर्ताको असक्षम नेतृत्व, र बोरामा पैसा बोकि ढोका–ढोकामा चहार्न नसक्नुले हामी केही साथीहरू महिनौंदेखि पद खाली हुँदाहुदै पनि ३० बर्से सेवा अवधि नपुग्दै जागिरबाट जबरजस्ती बढारिनु परेको थियो ।’

फेसबुकका माध्यमबाट नेताहरुको पोल खोलेका खनाल अगाडी लेख्छन्,‘संगठनका सदस्यहरूको व्यावसायिक लगानी धरायसी हुँदै गयो, प्रहरीलाई व्यावसायीक बनाउने भन्दा पनि राजनैतिक अभिष्ट पुरा गर्न अनावश्यक पदहरू थपिँदै लगियो जसबाट सुरक्षाको प्रभावकारिता स्खलित भएको आरोप लाग्नु स्वभाविक नै थियो ।’नेतृत्व स्वेच्छाचारी भएर चल्दा संगठनका नेतृत्वकर्ताले नेपाल प्रहरीको छवि विगारेको उनको ठम्याई छ । देउवा सरकारले वरियता मिच्दै नवराज सिलवाललाई पाखा लगाएर प्रकाश अर्याललाई आईजीपिमा बढुवा गरेसँगै नेपाल प्रहरीको शीर्ष तहमा हुँदै र छँदै आएको विबादले उग्र रुप लिएको थियो । त्यो शिलशिला अहिले पनि आएर ओली सरकारमा पनि देखियो । वरियताका आधारमा डिआइजी खनालभन्दा केही महिना पहिले अवकाश पाउँदै गरेका रमेश खरेललाई पाखा लगाउँदै सरकारले खनालाई आईजीपीमा नियुक्त गरेका बेला पूर्व प्रहरी वरिष्ठ उपरिक्षक यादवराज खनालले राजनीतिक दलहरुले देखाउने आचरणका विषयमा मुख फोरेका हुन् ।

 

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology