ओलीले आफू नेतृत्वको सरकार ढाल्ने देशको नाम र ढाल्ने तरिका नै सार्वजनिक गरिदिएपछि…

ओलीले आफू नेतृत्वको सरकार ढाल्ने देशको नाम र ढाल्ने तरिका नै सार्वजनिक गरिदिएपछि…


प्रहार न्युज
  • शुक्रबार, चैत्र ४ २०७८

  • काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्ने देशको नाम नै सार्वजनिक गरेका छन् । ओलीले अमेरिकाबाट इमेल आएपछि सर्वोच्चले आफ्नो सरकार ढालेको आरोप लगाएका हुन् ।

    पोखरामा एमालेनिकट पत्रकारहरूको संस्था प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले अमेरिकाबाट एक न्यायाधीशलाई आफ्नो सरकार ढाल्न इमेल आएपछि सर्वोच्चबाट परमादेश जारी भएको दाबी गरेका हुन् ।

    ‘एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ । अमेरिकाबाटै इमेल आउँछ । केपी ओलीको सरकार ढाल्नु नै थियो । नढाली भएको थिएन, किन ? न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ?’ उनले भने ।

    वर्गीय पूर्वाग्रह र विकासविरोधीको षड्यन्त्रको हिस्सेदार भएर न्यायाधीशहरूले आफू नेतृत्वको सरकार ढालेको उनको आरोप छ । परमादेशले संविधानको मजाक उडाएको, जनादेशको खिल्ली उडाएको, जनताको सार्वभौम अधिकार खोसेको र सेटिङमा सबै काम भएको देखाएको पनि उनले बताए । परमादेशीहरूलाई निर्वाचनबाट ठेगान लगाउने पनि ओलीको चेतावनी छ ।

    ओलीले पाँचदलीय सत्तागठबन्धनलाई अदालतले जन्माएको गोरुको पाठाको संज्ञा दिएका छन् । ‘नेपालमा एकपल्ट एकजनाले भनेका थिए– गोरु ब्याउँदैन । तर, नेपालको सर्वोच्च अदालतमा ब्यायो । उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन, पाँचवटा पाठासमेत पायो,’ उनले भने । आफूहरूले लडेर देशमा नयाँ परिवर्तनसँगै संविधान ल्याएको भए पनि परमादेशले त्यसको खिल्ली उडाएको ओलीको आरोप छ ।

    ओलीले अरु के–के भने ? ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देउवाको ढोका कुरेर बसेको बताए । ‘उनीहरू (प्रचण्ड र नेपाल) अहिले भित्रबाट केही प्रसाद आउँछ कि भनेर ढोकाबाहिर कुरेर बसेका छन् । बुद्धि बिग्रिएर यस्तो अवस्था आएको हो,’ उनले व्यंग्य गरे, ‘कताका जंगेहरू कताका बुंग्रे भए ।’

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले सञ्चार क्षेत्रलाई राष्ट्र र जनताको हितमा प्रयोग गर्न आग्रह गरेका छन् । सत्यको संवाहक बन्दै राष्ट्र र जनताको हितमा प्रयोग गर्न उनले एमालेनिकट पत्रकारहरूलाई आग्रह गरे । देशको विविधता, एकता, भूमिको रक्षा, भ्रष्टाचार अन्त्य, विकाससँगै भावी सन्तानका लागि उपयुक्त वातावरण सिर्जना गर्ने गरी भूमिका निर्वाह गर्न उनको आग्रह थियो । अहिले पीत पत्रकारिता मौलाएको उनको दाबी थियो ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार