मस्को । आठ वर्ष अघि युक्रेनको दक्षिणी भाग क्रिमियामा कब्जा गरेको खुसीयालीमा रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा शुक्रबार उत्सव मनाइएको छ । रुसी झण्डा फहराएर विशेष कार्यक्रमको आयोजनाका साथै रुसका विद्यालयहरूमा विशेष पाठ पनि पढाइएको छ ।
हजारौँको भिडमाझ रंगशालामा राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थिति विशेष आकर्षण बनेको थियो । सरकारी अधिकारीहरूले आफूहरूलाई रंगशालामा उपस्थित हुन सूचना जारी गरिएको बताएका छन् ।
विद्यालयमा शिक्षकहरूले विभिन्न पाठ पढाउँदै ुक्रिमियन स्प्रिङु मनाएका थिए । अहिले पनि युक्रेनको दक्षिणी तटीय भागका सहरहरू कब्जा गर्न रुसी फौजले क्रिमियामा आफ्ना अखडाहरू सञ्चालनमा राखेका छन् ।
मातृ भूमिप्रतिको प्रेम र सम्मान जनाउन राष्ट्रपति पुटिनले प्रत्येक वर्ष क्रिमियामाथिको विजय वर्षगाँठ मनाउने गरेका छन् । सरकारी अधिकारीहरूले रंगशालामा करिब दुई लाख मानिस जम्मा भएको दाबी गरेका छन् ।
रंगशालाको दर्शक क्षमता ८१ हजार मात्र भए पनि रंगशाला बाहिर पनि ठूलो भिड लागेको थियो । पुटिनले भिडलाई सम्बोधन गरेर भनेका थिए, “अब के गर्ने भन्ने हामीलाई थाहा छ । पक्कै पनि हामीले बनाएका सबै योजना कार्यान्वयन गर्नेछौँ ।
तर सरकारी टेलिभिजनमा भने पुटिनले यस्तो भन्दै गरेको दृश्य अचानक रोकेर लोकप्रिय गायक ओलेग गाज्मानोभले अघि बढ रुस भनेको दृश्य प्रशारित हुन पुगेको थियो । पछि यस घटनालाई क्रेमलिनले प्राविधिक त्रुटि भएको बताएको थियो ।
कार्यक्रमलाई मस्कोका मेयर सर्गेई सोव्यानिन, वरिष्ठ पत्रकार मार्गारिता सिमोन्यान र विदेश मन्त्रालयका महिला प्रवक्ता मारिया जाखारोभाले पनि सम्बोधन गरेका थिए । बीबीसीबाट