सुरुभयो गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने अभियान, शेखर पक्षले नै अभियानको नेतृत्व गरेपछि सत्तागठबन्धनमा हल्लीखल्ली

सुरुभयो गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने अभियान, शेखर पक्षले नै अभियानको नेतृत्व गरेपछि सत्तागठबन्धनमा हल्लीखल्ली


प्रहार न्युज
  • शनिबार, चैत्र १९ २०७८

  • काठमाडौं । सत्ता गठबन्धनले स्थानिय चुनावमा तालमेल गर्ने निर्णय गरेको छ तर त्यो निर्णय कार्यान्वयनमा महाभारत हुने देखिएको छ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्रै गठबन्धन गर्न नहुने समूह चुनावको मुखैमा मैदानमा उत्रिएपछि सत्तागठबन्धनलाई तालमेल गर्न निकै कठिन हुने परिदृश्यहरु देखिन थालेका छन् ।

    स्थानीय चुनाव र गठबन्धनको विषयमा नेपाली कांग्रेस सुर्खेतमा किचलो बढेको छ । नेपाली कांग्रेसका वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनमा एकलौटी विजय हात पारेको संस्थापन पक्ष हाबी भएको ठहरसहित संस्थापनइतर पक्षले गठबन्धनको विपक्षमा गोप्य भेला र छलफललाई तीव्रता दिन थालेको छ ।

    सुर्खेत कांग्रेसका निवर्तमान सभापति कमलराज रेग्मी, नेताहरु नारायण कोइरालालगायतको टोलीले आउने स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षले कम्तिमा चार पालिकाको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको छ तर पाँच दलीय गठबन्धन हुँदा काँग्रेसलाई हानि हुने भन्दै उक्त समूहले फरक रणनीति बनाउन थालेको हो ।

    पछिल्लो समयमा सुर्खेत कांग्रेस नौवटै पालिकामा सहजै जीत हासिल गर्न सकिने आँकलन गरिरहेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसले वीरेन्द्रनगर, पञ्चपुरी, भेरीगंगा, गुर्भाकोट नगरपालिका, बराहताल र चिङ्गाड गाउँपालिकामा जीत हासिल गरेको थियो ।

    कांग्रेस एक्लैले जितेका उक्त पालिका यसपटक गठबन्धनका कारण गुम्नसम्ने खतरा भएको भन्दै शेखर पक्षले आपत्ति जनाइरहेको छ । कांग्रेस सुर्खेतका निवर्तमान सभापति रेग्मीसहित शेखर पक्षका नेता कार्यकर्ताले पहिलोदेखि गठबन्धनको विपक्षमा मत जाहेर गर्दै आएका छन् ।

    ‘हामीले सकेसम्म कम्युनिष्टहरुसँग गठबन्धन गरेर जान हुँदैन । त्यसले काँग्रेसलाई नै नोक्सान हुन्छ भन्दै आएका छौं’, निवर्तमान सभापति रेग्मी भन्छन्, ‘सकेसम्म गठबन्धनका पक्षमा केन्द्रको निर्णय नहोस् भनेर हामीले खबरदारी गर्दै आइरहेका हौं ।’

    उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएको बताउँदै लोकतन्त्रमा विश्वास गर्ने दलले अन्य कम्युनिष्ट दलसँग गठबन्धन गर्दा त्यसको स्थानीयस्तरमा गलत सन्देश जाने बताए । ‘सकेसम्म कांग्रेस एक्लै लडनुपर्छ भन्ने नै हो’, उनी भन्छन्, ‘गठबन्धन नै हुने हो भने कांग्रेसले पाउने पालिकाको चालिस प्रतिशतको नेतृत्व हाम्रो पक्षले पाउनु पर्छ ।’

    तर, काँग्रेसका प्रदेश सभापति ललितजंग शाही भने पार्टी केन्द्रको निर्णय सबैले मान्नुपर्नेमा जोड दिन्छन् । ‘केहि साथीहरु गठबन्धन नगरौं भन्नेमा हुनुहुन्छ । कोही गरौं भन्नेमा हुनुहुन्छ’, उनले भने, ‘पार्टीका आन्तरिक समस्या समाधान गरेर पार्टी केन्द्रको निर्णयअनुसार गठबन्धन बनेको खण्डमा हामी सबै त्यसलाई स्वीकार गरेर अघि बढ्छौं ।’

     

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार