युक्रेनपछि अर्को देशलाई उक्सायो अमेरिकाले

युक्रेनपछि अर्को देशलाई उक्सायो अमेरिकाले


प्रहार न्युज
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौं । संसारको ध्यान अहिले युक्रेनमा चलिरहेको रुसी सैन्य कारवाहीमा केन्द्रित भइरहेको बेलामा पश्चिमले ताइवानलाई चीनको विरुद्ध भड्काउने कोशिश गरिरहेको छ ।

    त्यसै सन्दर्भमा अमेरिकाका डेमोक्रेटिक तथा रिपब्लिकन दुवै दलका सांसदहरूले बिहीवार (१४ अप्रिलमा) ताइवान भ्रमण गरेका छन् । रिपब्लिकन सिनेटर लिन्डसी ग्राहम, रिचर्ड बर, रोबर्ट पोर्टम्यान, बेन्जामिन सास्से, रोनी ज्याकसन र डेमोक्रेट सिनेटर बब मेनेन्डेजले ताइवानका राष्ट्रपति त्साई इङ–वनसँग भेटघाट गरेका हुन् । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभकी सभामुख न्यान्सी पलोसी पनि ताइवान जान खोजेकी थिइन् तर कोभिड लागेपछि उनले भ्रमण रद्द गरिन् ।

    उक्त भेटघाटमा युद्धपिपासु सिनेटर ग्राहमले राष्ट्रपति त्साईलाई युक्रेनमा रुसको आक्रमण तथा ताइवानका सन्दर्भमा चीनले देखाएको आक्रामकताका कारण यी दुई आक्रान्ता देशका विषयमा अमेरिकाको समान धारणा बनेको बताए । चीन र रुस दुवै खराब मानिसहरूले चलाइरहेको र उनीहरूलाई रोक्नु लोकतन्त्रवादीहरूको धर्म भएको पनि ग्राहमले बताए ।

    अझ सिनेटर मेनेन्डेजले एक कदम अघि बढेर ताइवान एक ‘महत्त्वपूर्ण देश’ भएको बताए । अमेरिका आफैंले ताइवानलाई देशको मान्यता नदिएको सन्दर्भमा सिनेटर मेनेन्डेजको यो अभिव्यक्ति आपत्तिजनक थियो ।

    यस भ्रमण र भ्रमणका क्रममा दिइएका बयानले चीनलाई स्वाभाविक रूपमा आक्रोशित बनाएको छ । ताइवानलाई आफ्नै अखण्ड भूभाग मान्ने चीनले त्यसलाई छुट्टै देश भनिएपछि आक्रोश व्यक्त गरेको हो । चीनको रक्षा मन्त्रालयले अमेरिकी सांसदहरूको भ्रमण जानाजान उत्तेजना फैलाउनका लागि गरिएको र यसले ताइवान जलसन्धिमा थप तनाव चर्काउने बताएको छ ।

    चीनले कुनै पनि बेलामा आफूविरुद्ध युद्ध शुरू गर्न सक्ने भन्दै ताइवानले युद्धमा ज्यान जोगाउनका लागि सर्वसाधारणले कस्तो उपाय अपनाउनुपर्छ भन्ने विवरण सहितको एक हातेपुस्तिका समेत हालै प्रकाशित गरेको छ । उक्त पुस्तिकामा कसरी स्मार्टफोन यापमार्फत बम शेल्टरहरू खोज्ने, खाद्यान्न र पानी कसरी पत्ता लगाउने अनि आकस्मिक अवस्थाका लागि प्राथमिक उपचार सामग्री कसरी तयार पार्ने ती सबैको विवरण उपलब्ध गराइएको छ ।
    अमेरिकी सांसदहरूको भ्रमणविरुद्ध प्रतिक्रिया जनाउँदै चीनले ताइवान नजिकको जलक्षेत्रमा सैन्य अभ्यास पनि थालेको छ । चिनियाँ जनमुक्ति सेनाले पूर्वी चीन सागरमा फ्रिगेट जंगी जहाज, बमवर्षक विमान र लडाकू विमानहरू शुक्रवार (१५ अप्रिलमा) पठाएको छ ।

    अनि ताइवान नजिक उसले जलसेना र वायुसेनाको संयुक्त अभ्यासहरू पनि गरेको छ । अमेरिकी सरकारले दिएको गलत संकेतलाई प्रतिकार गर्नका लागि यो अभ्यास गरिएको चीन सरकारको भनाइ छ ।

    यसैबीच चीनको आक्रामकता बढेको भन्दै ताइवान सेनाले पनि सैन्य अभ्यास गरिरहेको छ । ताइवानको रक्षा मन्त्रालयका प्रवक्ता सुन ली–फाङले चिनियाँ आक्रमण भएको खण्डमा कसरी ताइवानी सेनाले प्रतिकार गर्नेछ भनी अभ्यास (सिमुलेसन) गरिएको जानकारी दिए ।

    अभ्यासका क्रममा ताइवानले अमेरिकामा बनेको एफ–१६ लडाकू विमान र एएच–६४ अपाचे असल्ट हेलिकप्टरहरू समेत उपयोग गरेको खबर ताइवानी सञ्चारमाध्यमहरूले दिएका छन् । चीनको आपत्तिका बावजूद ताइवानले अमेरिकासँग हतियार किन्नका लागि अर्बौं डलर खर्च गरिरहेको छ ।

    त्यसो त अमेरिकाले ताइवानलाई अहिलेसम्म प्रतिरक्षात्मक हतियार मात्र बेचिरहेको छ । तर ताइवानी सेनाले आक्रामक हतियार प्रणाली विकसित गर्दै ठ्याक्कै निशानामा प्रहार गर्ने (प्रिसिजन स्ट्राइक) हतियार र पानीमुनि विस्फोट गर्ने बारुद बनाएको छ ।

    ताइवानलाई बलप्रयोग गरेर भए पनि मुख्यभूमिमा मिसाउने चीनको आकांक्षा छ । सन् २००५ मा चीनले पृथक्तावादनिरोधी कानून (एन्टी–सिसेसन ल) जारी गरेर ताइवानले स्वतन्त्रताको घोषणा गरेमा सैन्य कारवाही समेत चलाउन सक्ने व्यवस्था गरेको थियो ।

    त्यसैले ताइवानमा पृथक्तावादी सोच हुर्किन नपाओस् भनी चीनले ‘थ्री वारफेयर्स’ नीतिअन्तर्गत ताइवानविरुद्ध मनोवैज्ञानिक युद्ध, सार्वजनिक धारणा युद्ध तथा कानूनी युद्ध चलाइरहेको स्मलवार्स जर्नलमा च्यारिटी एस जेकब्स र क्याथलीन एम कार्ली लेख्छन् ।

    तर ताइवानले आफू चीनमा मिसिन नचाहेको र लोकतान्त्रिक शासनपद्धति नत्याग्ने बताइरहेपछि विगत दुई वर्षदेखि चीनले ताइवानको पृथक्तावादी सोचलाई दबाबमार्फत निवारण गर्नका लागि सैन्य गतिविधि बढाएको छ । त्यसक्रममा ताइवानको जलक्षेत्र नजिक सैन्य अभ्यास गर्ने अनि ताइवानको वायु सुरक्षा क्षेत्र (एयर डिफेन्स आइडेन्टिफिकेसन जोन–एडीआईजेड) मा लडाकू विमानहरू पठाउने काम चीनले गरिरहेको छ । चीनले ताइवानको वायुक्षेत्रमा नभई एडीआईजेडमा दिनहुँ जसो विमान पठाउने गरेको हो ।

    चीनले कुनै पनि बेलामा आफूविरुद्ध युद्ध शुरू गर्न सक्ने भन्दै ताइवानले युद्धमा ज्यान जोगाउनका लागि सर्वसाधारणले कस्तो उपाय अपनाउनुपर्छ भन्ने विवरण सहितको एक हातेपुस्तिका समेत हालै प्रकाशित गरेको छ । उक्त पुस्तिकामा कसरी स्मार्टफोन यापमार्फत बम शेल्टरहरू खोज्ने, खाद्यान्न र पानी कसरी पत्ता लगाउने अनि आकस्मिक अवस्थाका लागि प्राथमिक उपचार सामग्री कसरी तयार पार्ने ती सबैको विवरण उपलब्ध गराइएको छ ।

    कमिक बूक र चित्रहरू उपयोग गरी कसरी हवाई आक्रमण हुन लाग्दा बज्ने साइरनलाई चिन्ने अनि कसरी क्षेप्यास्त्रहरूबाट जोगिनेसम्मको निर्देशन त्यसमा दिइएको छ । यसरी युद्धमा बाँच्नका लागि सहयोग गर्ने हातेपुस्तिका बनाएसँगै ताइवानले चीनबाट हुने सम्भावित आक्रमणको जोखिम स्तर (अलर्ट लेभल) हालैको समयमा उच्च बनाएको छ ।

    उता चीनले पनि ताइवानमाथि दबाब बढाउनका लागि नयाँ लडाकू विमानहरू तयार पारिरहेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेना ब्रिगेडले जे–१६ लडाकू विमानहरूको ताजा जत्था लिएको खबर चीनको सरकारी टेलिभिजन च्यानल सीसीटीभीले दिएको छ ।

    यो विमान चिनियाँ सेनाले ताइवान नजिक गर्ने गश्ती र अभ्यासमा बाक्लै प्रयोग गरिने गरेको छ । चिनियाँ वायुसेनाले उपयोग गर्दै आएको जे–७ र जे–८ लडाकू विमानलाई क्रमशः विस्थापित गर्दै यस अत्याधुनिक विमानले सेनाको क्षमतालाई थप बढाउने चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ । यी अत्याधुनिक विमानहरू अमेरिकी लडाकू विमानकै जस्तो स्तरको भएको एसिया टाइम्समा गेब्रिएल होनराडाले लेखेका छन् ।

    यसरी चीन र ताइवान दुवैले युद्धको तयारीलाई बढाइरहेको देखिन्छ । चीनको आक्रमण तथा ताइवानको प्रतिकार दुवै स्थितिमा युद्ध लामै समयसम्म जान सक्ने देखिन्छ । तर ताइवानले ‘पोर्कुपाइन स्ट्राटेजी’ अपनाएर चीनलाई आक्रमणबाट विमुख बनाउन खोजेको सैन्य विश्लेषकहरू बताउँछन् ।

    अमेरिकाले ताइवानलाई चिनियाँ आक्रमणको प्रतिकारका लागि पूरा सहयोग गर्ने अमेरिकी सांसद ग्राहमले बताएका छन् । चीनलाई यस आक्रमणको भारी मूल्य चुकाउन बाध्य बनाउने उनको दाबी छ । अर्थात्, अमेरिकाले युक्रेनलाई जस्तै गरी ताइवानलाई हातहतियार आपूर्ति गर्नेछ । तर आफ्ना सैनिकहरू चाहिँ उसले पठाउने छैन ।

    युक्रेनमा जस्तै गरी ताइवानमा पनि अमेरिकी सैनिकहरूले स्थानीय सैनिकलाई गोप्य रूपमा प्रशिक्षण दिँदै आएका छन् । अमेरिकी विशेष बलका २५ सैनिक तथा संख्या नखुलाइएका मरिनहरूले ताइवानी सैनिकहरूलाई प्रशिक्षण दिइरहेको भनी गत अक्टोबर महिनामा द वाल स्ट्रीट जर्नलले खबर दिएको थियो । अनि ताइवानी सैनिकहरूलाई अमेरिकाले ग्वाममा समेत तालिम दिएको खबर पनि सार्वजनिक भएको छ ।

    अर्थात्, युक्रेनलाई रुससँगको युद्धका लागि तयार पारेजस्तै ताइवानलाई चीनविरुद्धको युद्धका लागि अमेरिकाले तयार पारिरहेको छ । सन् १९७९ मा ताइवानसँग नभई चीनसँग सैन्य र कूटनीतिक सम्बन्ध कायम गरेको अमेरिकाले सन् २०१७ मा नेसनल डिफेन्स अथोराइजेसन याक्टमा हस्ताक्षर गरेर वाशिङटन र ताईपेईबीच सैन्य आदानप्रदानको ढोका खोलेको थियो । त्यसपछि ताइवानलाई अमेरिकाले बाक्लै सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ ।

    यसरी सैन्य सहयोग दिइरहेको भए पनि ताइवानका विषयमा अमेरिकाले रणनीतिक दुविधा (स्ट्राटेजिक एम्बिग्विटी) कायम राखेको छ । सन् १९७९ मा अमेरिकाले जारी गरेको ताइवान रिलेसन्स याक्टमा ताइवानलाई आत्मरक्षाका लागि पर्याप्त क्षमता उपलब्ध गराउने उल्लेख छ । तर ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले उसको प्रतिरक्षा गर्ने भनी स्पष्ट बताएको छैन । अर्थात्, ताइवानलाई सहायता गर्ने तर प्रतिरक्षा नगर्ने द्विअर्थी कुरा अमेरिकाले गरिरहेको छ ।

    ताइवान र उसका समर्थकहरू अमेरिकाले यस्तो दुविधा त्याग्दै खुलेर ताइवानको प्रतिकार गर्नुपर्ने बताइरहेका छन् । अमेरिकाका प्रमुख सञ्चारमाध्यममा रणनीतिक दुविधा त्याग्नका लागि बाइडन प्रशासनलाई सुझाव दिइएका आलेखहरूको बाढी आएको छ । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले पनि प्रोजेक्ट सिन्डिकेटमा एउटा लेख प्रकाशित गरी अमेरिकालाई ताइवानको प्रतिरक्षाका लागि रणनीतिक दुविधा त्याग्न र हिन्द प्रशान्त क्षेत्रको अस्थिरता रोक्न आह्वान गरेका छन् ।

    अलजजीराका रक्षा विश्लेषक एलेक्स गाटोपुलोसका अनुसार, ताईपेईको एक पहाडमुनि बनाइएको हङ शान मिलिटरी कमान्ड सेन्टरमा हजारौं सैनिक लुकेर युद्ध गर्न सक्छन् । त्यस भूमिगत संरचनाले हवाईमा रहेको अमेरिकी हिन्द प्रशान्त कमान्डसँग सिधै सम्पर्क कायम गरेको छ । ताइवानीहरूले हवाईबाट भूउपग्रह तथा अन्य माध्यमबाट महत्त्वपूर्ण सूचना पाउने हुनाले चीनलाई ताइवानमाथि एकाएक आक्रमण (सरप्राइज अट्याक) गर्न गाह्रो हुनेछ ।
    युक्रेन सार्वभौम राज्य र अमेरिकाको प्रमुख गैरनेटो साझेदार (मेजर नन नेटो अलाई) भए पनि अमेरिकाले उसको प्रतिरक्षाका लागि आफ्ना सैनिकहरू नपठाएको सन्दर्भलाई विचार गर्दा ताइवानका लागि अमेरिकाले रणनीतिक दुविधा त्यागिहाल्ने आकलन गर्न गाह्रो देखिन्छ । आखिर ताइवानलाई स्वतन्त्र राष्ट्रको मान्यता अमेरिकाले दिएको छैन र आफ्नो साझेदार पनि मानेको छैन ।

    आफैं ताइवानको प्रतिरक्षामा नहोमिए पनि चिनियाँ आक्रमणलाई छिट्टै सफल हुन नदिनका लागि अमेरिकाले विभिन्न उपाय अपनाउन सक्ने सैन्य विश्लेषकहरू बताउँछन् । अलजजीराका रक्षा विश्लेषक एलेक्स गाटोपुलोसका अनुसार, ताईपेईको एक पहाडमुनि बनाइएको हङ शान मिलिटरी कमान्ड सेन्टरमा हजारौं सैनिक लुकेर युद्ध गर्न सक्छन् ।

    त्यस भूमिगत संरचनाले हवाईमा रहेको अमेरिकी हिन्द प्रशान्त कमान्डसँग सिधै सम्पर्क कायम गरेको छ । ताइवानीहरूले हवाईबाट भूउपग्रह तथा अन्य माध्यमबाट महत्त्वपूर्ण सूचना पाउने हुनाले चीनलाई ताइवानमाथि एकाएक आक्रमण (सरप्राइज अट्याक) गर्न गाह्रो हुनेछ ।

    जे होस्, ताइवानका विषयमा रणनीतिक दुविधा कायम राखे पनि अमेरिकाले क्रमशः ताइवानलाई चीनसँग भिडाउनका लागि गतिविधि बढाइरहेको हालैका घटनाक्रमहरूले देखाएका छन् ।

    सन् २०२२ मा सार्वजनिक गरिएको नेसनल डिफेन्स अथोराइजेसन याक्टमा ताइवानसँगको सैन्य सम्बन्ध बढाउने बकाइदा उल्लेख छ । यसरी बाइडन प्रशासनले ताइवानलाई अमेरिकाको वस्तुगत सैन्य साझेदार बनाउन खोजेको देखिन्छ । चीनले ताइवानका विषयमा कोरेको लक्ष्मणरेखालाई अमेरिकाले नाघ्ने छेकछन्द यसबाट पाइन्छ । युक्रेनमार्फत रुसविरुद्धको मोर्चा खोलेको अमेरिका ताइवानमार्फत चीनविरुद्धको मोर्चा खोल्नका लागि पनि भरपूर तयारी गरिरहेको देखिन्छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार