पुटिनले मागे माफी

पुटिनले मागे माफी


प्रहार न्युज
  • शुक्रबार, बैशाख २३ २०७९

  • काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीले एउटा अन्तर्वार्तामा नाजी नेता हिटलरको पनि “यहूदी रगत“ थियो भनेको विषयलाई लिएर माफी मागेको इजरेलले जनाएको छ।

    पुटिनले इजरेली प्रधानमन्त्री नाफ्ताली बेनेटसँगको फोनवार्तामा माफी मागेको बेनेटको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। यद्यपि उक्त टेलिफोन वार्ताबारे रुसले जारी गरेको विवरणमा माफीबारे उल्लेख गरिएको छैन।

    रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोफले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की यहूदी हुँदाहुँदै पनि युक्रेनलाई “नाजी“ राष्ट्रका रूपमा चित्रण गरेको औचित्य पुष्टि गर्ने प्रयासस्वरूप उक्त टिप्पणी गरेका थिए।

    लाभ्रोभले गत आइतवार इटलीको एउटा टेलिभिजनसँगको कुराकानीमा त्यस्तो बताएका हुन्। इजरेलले यहुदीहरूको आम नरसंहार अर्थात् होलोकस्ट भनिने घटनाको स्मरण दिवस मनाएको भोलिपल्ट उनको भनाइ आएको थियो।

    उक्त दिनलाई इजरेलको पात्रोको सबैभन्दा गम्भीर दिनहरूमध्येको एक मानिन्छ। टेलिभिजनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की स्वयम् यहुदी हुँदाहुँदै रुसले कसरी त्यहाँ “नाजीकरणबाट मुक्त“ गर्न लडिरहेको भन्ने दाबी गर्न सक्छ? भनेर सोधेको थियो।

    त्यसको जवाफमा लाभ्रोफले भनेका थिए, “म गलत पनि हुनसक्छु तर हिटलरमा पनि यहुदीकै रगत थियो। ृत्यसैगरी जेलेन्स्की पनि यहुदी हुन्े त्यसको अर्थ केही पनि पूर्णरूपको हुँदैन। विद्वान् यहुदीहरू नै भन्छन्– सबैभन्दा बढी यहुदी विरोधी प्रायः यहुदी नै हुने गर्छन्।“रुसी विदेशमन्त्रीको उक्त भनाइले इजरेलमा आक्रोश पैदा गरेको थियो। दोस्रो विश्वयुद्धका बेला नाजी जर्मनीले ६० लाख यहुदीहरूको नरसंहार गरेको थियो।

    उक्त अन्तर्वार्ता लगत्तै इजरेलले रुसी विदेशमन्त्रीले माफी माग्नुपर्ने बताएको थियो। प्रधानमन्त्री बेनेटले लगत्तै भनेका थिए, “त्यस्तो दाबीले इतिहासको सबैभन्दा दर्दनाक अपराधका लागि यहुदीहरू आफैँलाई दोष लगाउने र यहुदीमाथि अत्याचार गर्नेहरूलाई अपराधमा उनीहरूको जिम्मेवारीबाट मुक्त गर्ने काम गर्छ।“

    बिहीवारको वक्तव्यमा बेनेटको कार्यालयले उनले पुटिनले मागेको माफीलाई स्वीकारेको उल्लेख छ। त्यस्तै उनले “यहुदीप्रित पुटिनको दृष्टिकोण तथा होलोकस्टको स्मरणबारे धन्यवाद दिएको“ त्यसमा जनाइएको छ। रुसी विवरणमा पनि उक्त फोनवार्तामा होलोकस्टबारे कुराकानी भएको उल्लेख छ तर पुटिनले माफी मागेको त्यसमा जनाइएको छैन।

    इजरेलले रुस र युक्रेनबीच मध्यस्थताको प्रयास गरेको थियो तर उसले पुटिनविरुद्ध कडा नीति नअपनाएको भन्दै आलोचना पनि खेपेको छ। इजरेली सञ्चारमाध्यमहरूले युक्रेनलाई उक्त देशले सैन्य तथा अन्य सहायता बढाउने समाचारहरू सम्प्रेषण गरेका थिए। –बिबिसीबाट

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार