काठमाडौं । विश्वकै ध्यान तानिएको काठमाडौं महानगरपालिकाको मेयरको मतपरिणाम बाहिरिन थालेको छ । राजधानी समेत रहेको यो महानगर यसकारण बहुप्रतिक्षित छ कि यहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्न सक्ने प्रक्षेपणहरु भइरहेका छन् ।
काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै गर्दा गणक नै अलमलिएपछि वडा नम्बर १ को गणना स्थगित भएको छ । वडा नम्बर ३२ मा भने गणना भइरहेको छ ।
वडा नम्बर १ को ७ मत गन्दा उम्मेदवार नै नभएका ठाउँमा पनि मत परेपछि गणक अलमलिएका हुन् । दुईवटा हलो चिह्नका उम्मेदवारसमेत गणनास्थलमा पुगेपछि कर्मचारी अलमलमा परेको बताइएको छ ।
सात मत गन्दा उपमेयरमा एमालेकी सुनिता डंगोलले ४ मत पाएको गणनास्थलमा रहेका एक कर्मचारीले बताए । मेयरमा भने केशव स्थापित, सिर्जना सिंह र राप्रपाका मदनदास श्रेष्ठले दुई–दुई मत पाउँदा बालेन शाहको १ मत देखिएको छ ।
मतगणना सुरू भएपछि मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन्। अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह भने आफै देखिएका हुन् । बालेनले महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।