१७ महानगर–उपमहानगरमध्ये एमाले एक्लैले ११ ठाउँका शानदार जित निकाल्ने संकेत

१७ महानगर–उपमहानगरमध्ये एमाले एक्लैले ११ ठाउँका शानदार जित निकाल्ने संकेत


प्रहार न्युज
  • शनिबार, जेष्ठ ७ २०७९

  • काठमाडौं– यसपटकको स्थानिय तहको चुनावमा नेकपा एमालेले नमज्जासँग अधिकांश प्रतिष्ठित स्थानिय तह गुमाउने भएको छ । विभिन्न कारणहरुले एमाले देशभर अधिकांश ठाउँमा हारेको हो । महानगर र उपमहानगरका अधिकांश ठाउँमा प्रमुख गुमाएको एमालेले उपप्रमुखमा भने प्रगति गरेको छ।

    ६ महानगरमध्ये विराटनगरमा एमालेले उपप्रुमख जितिसकेको छ भने काठमाडौं, ललितपुर र पोखरामा अग्रता छ। त्यसैगरी ११ उपमहानगरमध्ये कलैया, जितपुर सिमरा र घोराहीमा उप्रमुख जितेको छ। अन्य ४ वटा इटहरी, तुलसीपुर, बुटवल, र धनगढीमा अग्रता लिइरहेकको छ।

    ५ दलीय सत्ता गठबन्धनको भागबन्डामा एकीकृत समाजवादीले महानगरमा एक प्रमुख र एक उपप्रमुख र उपमहानगरमा एक प्रमुख र तीन उपप्रमुख पाएको थियो। प्रमुख पाएको हेटौंडा उपमहानगरमा एकीकृत समाजवादीकी मीना लामाले जितेकी छिन् भने पोखरा महानगरपालिका प्रमुखमा धनराज आचार्य नै अगाडि छन्। दुवै प्रमुख जोगाउने सफलतातिर रहेको एकीकृत समाजवादीले उपप्रमुख भने चारवटै गुमाउने संकेत देखिएको छ।

    काठमाडौं उपमहानगरको उपप्रमुख सत्ता गठबन्धनले एकीकृत समाजवादीलाई दिए पनि नेकपा एमालेले खोस्ने पक्का देखिएको छ। एमालेकी सुनिता डंगोलले २६ हजार कटाउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भर्खर ८ हजार पार गरेका छन्।

    यसैगरी बुटवल उपमहानगरपालिकाको उपप्रमुख पनि एकीकृत समाजवादीको हातबाट खोसिने सम्भावना छ। एमालेकी सावित्राकुमारी अर्यालले २० हजार ६४ मत प्राप्त गर्दा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले जम्मा १४ हजार ७ सय ७५ मत प्राप्त गरेका छन्।

    अर्को इटहरी उपमहानगरमा एकीकृत समाजवादीको सम्भावना लगभग सकिएको छ। मतगणना अन्त्यतिर आइपुग्दा एमालेकी संगीता चौधरीले एकीकृत समाजवादीका केशवकुमार विष्टलाई ११ हजार भन्दा बढी मतान्तरले पछाडि पारेकी छन्। चौधरीले २५ हजार ६ सय ६ मत ल्याउँदा विष्टले जम्मा १४ हजार ६ सय ६ मत पाएका छन्।

    दाङको तुलसीपुरमा मत गणना ढिलोगरी सुरु भयो। प्रारम्भिक २५ प्रतिशत मतगणना केलाउँदा त्यहाँ पनि जित्ने सम्भावना कमजोर हुँदै गएको छ। एमालेकी स्यानी चौधरीले ८ हजार १ सय ६० मतसहित अग्रता कायम गरेकी छिन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीको उम्मेदवार जोगबहादुर राना ६ हजार ७ सय ३३ मतसहित पछ्याइरहेका छन्।

    जनता समाजवादी पार्टी जसपाले पनि गठबन्धनबाट प्राप्त उपमेयर नेपालगञ्जमा मात्रै जोगाउन सफल भएको छ। विराटनगर महानगरपालिकामा पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले नेकपा एमालेकी शिल्पा कार्कीसँग हार बेहोरेका छन्। बाराको कलैयामा पनि नेकपा एमालेकी उम्मेदवार रौशन परिवनले जसपाका प्रमोदप्रसाद गुप्तालाई हराएकी छन्।

    गठबन्धनबाट प्राप्त उपमेयर गुमाउनेमा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पनि रहेको छ। जितपुर सिमरा र घोरीहीमा कांग्रेसले उपमेयरमा हार बेहोरेको छ। जितपुर सिमरामा गठबन्धनबाट साझा उम्मेदवार कांग्रेसकी मेघा शाही एमालेका भोलाप्रसाद अधिकारीबाट पराजित भइन्। घोराहीमा कांग्रेसका भुपबहादुर डाँगी एमालेकी हुमाकुमारी डिसीसँग झिनो मतान्तरले पराजित भए।

    नेपाली कांग्रेसले नै प्राप्त गरेको पोखरा महानगरपालिकाको उपमेयर समेत एमालेले खोस्ने सम्भावना बढेको छ। शनिबार बिहान ८ बजेसम्मको मतगणना अनुसार एमालेकी मञ्जु गुरुङले ३३ हजार २ सय २१ मतसहित अग्रता लिएकी छन् र कांग्रेसकी कोपिला रानाभाटले ३२ हजार ९ सय ५९ मतसहित पछ्याइरहेकी छन्।

    घोराहीमा प्रमुख समेत गुमाइसकेको नेकपा माओवादीले धरानबाहेकमा उपप्रमुखको रक्षा गर्ने सम्भावना कमजोर देखिएको छ। धनगढी उपमहानगरमा एमालेकी कन्दकला रानाले १० हजार ८ सय ८० मत पाएर माओवादी केन्द्रकी शान्ति अधिकारीलाई उछिनेकी छिन्। अधिकारीले भने १० हजार ७ सय २ मतसहित पछ्याइरहेकी छन्।

    ललितपुर महानगरमा एमालेकी मञ्जली शाक्यले मााओवादी केन्द्रका बाबुराज महर्जनलाई तीन हजारभन्दा बढी मतान्तरले पछाडि पारेकी छन्। गठबन्धनका कारण प्रमुख पद गुमाइरहेको एमालेले उपप्रमुखमा भने बहुमत पद जित्ने सम्भावना देखिएको छ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार