ओलीले आफ्नो छेउमै बसेका सभामुख सापकोटालाई यतिसम्म भन्दै थर्काएपछि…

ओलीले आफ्नो छेउमै बसेका सभामुख सापकोटालाई यतिसम्म भन्दै थर्काएपछि…


प्रहार न्युज
  • बिहिबार, जेष्ठ १२ २०७९

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो छेउमै बसेका सभामुख अग्नि प्रसाद सापकोटामाथि खनिएका छन् । ओलीले आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले पदीय मर्यादा बिर्सेको आरोप लगाएका हुन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सभामुखमाथि आरोप लगाएका हुन् ।

    ‘साउन २५ गते हामीले निष्कासन गरेको सांसदहरुको भदौ १ गते सम्माननीय सभामुखकहाँ हामीले प्रस्तुत गरिसकेको कुरालाई १० दिन पर्खिएर ‘अरुको चाहिँ ढोकाबाटै लिएर सूचना जारी गर्नुपर्ने । एमाले फुटाउन पदीय मर्यादा सबै बिर्सिएर एमाले फुटाउन जे पनि गर्न हुने ? कुनै मर्यादा राख्न नपर्ने ?’ उनले प्रश्न गरे । यस्तै अध्यक्ष ओलीले सरकारले अमेरिकी उपमन्त्रीलाई तिब्बती शरणार्थीहरूलाई भेट्न दिएको विषयमा पनि संसदमा जवाफ मागेका छन् ।

    अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जेया नेपालस्थित तिब्बती शरणार्थी शिविरमा पुगेको विषय उठाउँदै ओलीले अहिलेको सरकारले विदेशी कूटनीतिज्ञ, मन्त्रीहरू र प्रतिनिधिहरूको भ्रमणलाई न्यूनतम कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय मान्यताअनुकुल बनाउन नसकेको आरोप लगाए । ‘एउटा सहायकमन्त्री आउँदा स्कर्टिङ दिएर गुम्बागुम्बामा कहाँ कहाँ पु¥याइयो,’ उनले भने, ‘यसले हाम्रो छिमेक सम्बन्धसँगको इमान्दारिता हुन्छ कि हुँदैन ?’

    एमाले अध्यक्ष ओलीले नेपालको संविधानले विदेश नीतिमा तटस्थता, आफ्नो राष्ट्रिय स्वतन्त्रता र स्वतन्त्र परराष्ट्र नीति आफैं तय गर्ने, कुनै पनि राष्ट्रका व्यक्तिलाई कहाँ जान दिने, कहाँ नदिने भन्ने स्पष्ट पारेको बताए । उनले आफू यही मुलुकको पूर्वप्रधानमन्त्री भएर पनि हुम्लाको लिमी जाँदा अनुमति लिएको भन्दै अर्को मुलुकको सहायक मन्त्री आउँदा गुम्बामा जान किन अनुमति दिएको भनेर प्रश्न गरे ।

    ‘अस्ति लिमी भ्याली जाँदा मैले सरकारको इजाजत लिएर गएँ । म देशको पूर्व प्रधानमन्त्री, देशको बहालवाला सांसद, प्रमुख प्रतिपक्षी दलको नेता । मैले आफ्नै देशभित्र पनि प्रशासनसँग इजाजत लिएर लिमीजस्तो हुम्लाको दुर्गम ठाउँमा जानुप¥यो,’ उनले प्रश्न गरे, ‘अनि विदेशी मन्त्री आउँदा इजाजत लिनुपर्छ कि पर्दैन ? लिनुपर्छ भने किन दिनु भयो, कसरी दिनुभयो ? कसको पक्षमा दिनुभयो ? कसको विपक्षमा दिनुभयो ? छिमेक सम्बन्धका संवेदनशीलतालाई बुझ्नु भएको छ कि छैन ? अहिलेको सरकार र गठबन्धनले बुझ्छ कि बुझ्दैन ?’

    उनले सत्तारुढ गठबन्धनका दलका नेताहरूलाई लाचार भएको भन्दै सत्ता फुत्किन्छ कि भनेर डराइरहेको आरोप लगाए । ‘गठबन्धन बलियो छ भन्नुहुन्छ । तर, एउटा सहायक मन्त्री वा कोही आयो भने थुरथुर तीन दिनसम्म काम ज्वोरो हट्दैन,’ उनले भने, ‘कसरी आफ्नो स्वाधीनताको रक्षा गर्नुहुन्छ ?’

    उनले यसबाट छिमेकी मुलुकसँगको सम्बन्धमा हुनसक्ने असन्तुलन र विकसित हुन सक्ने संशयबाट नेपाल र नेपालीले ब्यहोर्नुपर्ने परिणामप्रति सरकार जिम्मेवार नरहेको बताए । उनले मुलुकको परराष्ट्र नीतिको असंलग्नता, न्यायोचित तटस्थता, निष्पक्षता र स्वतन्त्रतामाथि प्रहार नगर्न सरकारलाई चुनौती दिए ।

    ‘नेपालको परराष्ट्र नीति र सम्बन्ध अहिलेको यो गठबन्धन नामको कृत्रिम, आर्टिफिसियल, पासा फ्याँकेर ल्याएको सरकार, अस्थायी सरकार, म्यादी सरकारको निजी विषय होइन,’ उनले भने, ‘तपाईंहरूलाई जे पनि गर्न छुट छैन । म त्यतापट्टि ध्यानाकर्षण गराउन चाहन्छु ।’

    ओलीले नेपाल एक चीन नीति मान्छ कि मान्दैन भन्ने प्रश्नको जवाफ प्रधानमन्त्री देउवाले दिनुपर्ने बताए । उनले छद्म ढंगले कुनै गतिविधि गर्न नपाइने पनि बताए । नेपालको परराष्ट्र नीति र व्यवहार छिमेकी मित्रराष्ट्रहरूप्रति पूर्ण इमान्दार हुनुपर्ने भन्दै उनले विश्वास र भरोसाका सम्बन्ध अझ बलियो बनाउनुपर्ने बताए ।

    ‘नेपाली भूमि कसैका विरुद्ध प्रयोग गर्न नदिने सदासदाको दृढ अडान हो । यसमा सरकार अड्नुपर्छ,’ उनले भने, ‘हाम्रो परराष्ट्र नीति पारस्परिक लाभ र सम्मानमा आधारित हुनुपर्छ । स्वतन्त्र, तटस्थ, असंलग्न र निष्पक्ष हुनुपर्छ । सार्वभौम स्वावलम्बनको नीति अवलम्बन गरिनुपर्छ । वास्तविक अर्थ र मर्मका साथ आफ्नो देशको स्वाधीनता र स्वतन्त्रताको प्रयोग हुनुपर्छ ।’ उनले बुढीगण्डकी र अरुण ४ को विषयमा सिंगो राष्ट्रलाई स्पष्ट पार्न समेत सरकारलाई आग्रह गरे ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार