संघीय राजधानीका काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले जितेको औपचारिक घोषणा भएको छ । स्वतन्त्र उम्मेदवारको जितले प्रतिस्पर्धी र विरोधीहरुको मथिङ्गल नै हल्लाइदिएको छ भने बालेनका समर्थक मात्रै दलहरुबाट आजित बनेका जनता समेत उत्साहित बनेका छन् ।
यसैबीच, काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितले पहिलो प्रतिक्रिया दिएका छन् । सिर्जना सिंहले आफूले मतदाताको मत जित्न नसकेपनि मन भने जितेको बताएकी हुन् ।
उनले नगरवासीले दिएको अपार माया, हौसला र समर्थनप्रति आभार प्रकट गरेकी छन्। ’विजयी हुने गरि निश्चय नै मत जित्न सकिनँ तर नगरवासी आमाबुबा, दिदीबहिनी, दाजुभाइको मन जित्न सकेँ। अतः लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछु।’
उनले काठमाडौं महानगरको प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई बधाई र शुभकामना पनि दिएकी छन्। साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिँदै महानगरवासिको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकाल भरी आफ्नो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता जनाएकी छन्।
निर्वाचनमा अहोरात्र खट्नु हुने पार्टीका आदरणीय साथीहरु, शुभेक्छुकहरू, सञ्चारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकार मित्रहरू, सामाजिक सञ्जालबाट निरन्तर हौसला दिने युवा साथीहरू एवं निर्वाचन सम्पन्न गराउने राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनका पर्यवेक्षक लगायत सम्पूर्णमा म हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछु’, सिर्जनाले भनेकी छन्।
यस्तै अर्का उम्मेदवार स्थापितले भने यो परिणामले आफूलाई आश्चर्यचकित पारेको प्रतिक्रिया दिएका छन् । मेयरमा हार्ने यो घटना अप्रत्यासित भएको र यसको अनुसन्धानमा आफू तत्काल लाग्ने स्थापितको भनाई छ । तपाईले चुनावअघि जे कुरा बोल्नुभएको थियो त्यसो हुन सकेन यसमा तपाईको पार्टीका केही नेता अथवा को दोषी जस्तो लाग्छ भन्ने प्रश्नको उत्तर दिदै स्थापितले म यसबारे बोल्न चाहन्न, म मौन छु यो भन्दा ठूलो कुरा केही हुन्छ भन्दै प्रतिप्रश्न गरे ।
पत्रकारले लगत्तै अर्को प्रश्न सोधे त्यसो भए तपाईले आत्मसमिक्षा गरिराको हो ? स्थापितले आफू र पार्टीले अब आत्मसमीक्षा गर्नुपर्ने र त्यतातर्फ आफू लागेको बताए ।