अमेरिकाबाट युक्रेनलाई रुससम्मै हान्न सक्ने रकेट !

अमेरिकाबाट युक्रेनलाई रुससम्मै हान्न सक्ने रकेट !


प्रहार न्युज
  • मंगलबार, जेष्ठ १७ २०७९

  • वासिङटन । अमेरिकी सरकारले युक्रेनलाई छिट्टै लामो दूरीको बहु–रकेट प्रणाली (एमएलआरएस) पठाउने देखिएको छ । अमेरिकी एमएलआरएस रकेटले अग्रमोर्चाभन्दा टाढाको लक्ष भेद गर्न सक्छ ।

    रुसले युक्रेनलाई यसरी ठूलाठूला हातहतियार उपलब्ध गराउनुलाई तनाव चर्काउने निहुँका रूपमा लिने गरेको छ । पूर्वी दोन्बास क्षेत्रमा रुसी फौजबाट भइरहेको भीषण बमबारीको जवाफ दिनका लागि एमएलआरएस उपलब्ध गराउन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य अधिकारीहरूले धेरै समयदेखि अमेरिका र युरोपसँग अनुरोध गर्दै आएका छन् । अहिले रुसले दोन्वासको सेभेरोदोनेत्स्कलगायत अन्य भागहरूमा रकेट, ट्याङ्क र लडाकु विमानबाट भिषण बमबारी गरिरहेको छ ।

    यसअघि नै युक्रेनी फौजले करिव २५ किलोमिटर टाढा मार हान्ने क्षमताका अमेरिकी एम ७७७ होविटत्जर्स प्रयोग गर्न थालेको हो । तर एमएलआरएसको मद्दतले उनीहरूले सो दूरी भन्दा परसम्म रकेट मार हान्न सक्नेछन् । एम २७० एमएलआरएसले ३ सय किलोमिटर टाढासम्मका लक्ष ताकेर प्रहार गर्न सक्छ । साथै यसलाई करिब ७० किलोमिटरको छोटो दूरीमा निशाना साँध्न पनि प्रयोग गर्न सकिन्छ ।

    युक्रेनलाई ससाना रकेटमै सिमित राखेर अमेरिकाले द्वन्द्व चर्किन नदिन सक्थ्यो । तर अझैपनि यसले युक्रेनलाई प्राथमिकताका साथ शक्तिशाली हतियार प्रदान गरिरहेको छ ।

    एकजना वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै दि वासिङगटन पोस्टले ह्वाइट हाउस युक्रेनलाई एमएलआरएस दिन इच्छुक भएपनि त्यस प्रणाली प्रयोग हुने लामो दूरीका हतियार रोक्ने जनाएको छ ।

    किनभने त्यस्ता अवस्थामा युक्रेनले रुस भित्र समेत त्यसबाट आक्रमण गर्ने खतरा रहन्छ । त्यो अवस्थामा अमेरिका र नेटो समेत प्रत्यक्ष रूपमा युद्धमा तानिन सक्छन् । बीबीसीबाट ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार