अर्थमन्त्रीसँग पानी बाराबारको अवस्थामा रहेका गभर्नर अधिकारीले दुई महिनापछि अर्थमन्त्री शर्मालाई दिए सरप्राइज !

अर्थमन्त्रीसँग पानी बाराबारको अवस्थामा रहेका गभर्नर अधिकारीले दुई महिनापछि अर्थमन्त्री शर्मालाई दिए सरप्राइज !


प्रहार न्युज
  • बुधबार, जेष्ठ २५ २०७९

  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग दुई महिनादेखि पानी बाराबारको अवस्थामा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दुई महिनापछि अर्थमन्त्री शर्मालाई सरप्राइज दिएका छन् । अधिकारीले शर्मालाई मन्त्रालयमा अर्थमन्त्रीको कार्यकक्षमै पुगेर सरप्राइज दिएका हुन् ।

    निलम्बन परेपछि अदालतको आदेशबाट पुनर्बहाली भएका गभर्नर अधिकारीले बुधवार मन्त्रालयमै पुगेर अर्थमन्त्री शर्मासँग भेटेका हुन् । गत चैत २४ गते निलम्बनअघि एउटै कार्यक्रममा सहभागी हुँदा अर्थमन्त्री शर्माले गभर्नर अधिकारीले असहयोग गरेको भन्दै आक्रोश पोखेका थिए ।

    सोही दिन अर्थमन्त्रालयले गभर्नर अधिकारीमाथि छानबिन गर्न एक समिति गठन गरेको थियो । उक्त समिति गठनपछि राष्ट्र बैंक ऐनअनुसार गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका थिए ।

    सरकारले गरेको निलम्बनको निर्णयविरुद्ध अधिकारी अदालत गए । सर्वोच्च अदालतले ६ वैशाखमा उनको पक्षमा अन्तरिम आदेश दिएपछि अधिकारी काममा फर्किएका हुन् ।

    पछिल्लो समय पानी बाराबारको स्थितिमा रहेको भनिएका अर्थमन्त्री र गभर्नरबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बुधवार भएको भेटमा राष्ट्र बैंकले तयारी गर्दै गरेको मौद्रिक नीतिका विषयमा छलफल भएको अर्थमन्त्रीका सञ्चार संयोजक अजित अधिकारीले बताए ।

    बर्सेनि सरकारले वित्त नीति ल्याएपछि सो नीतिले लिएको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक नीति आउने गरेको छ । यसअघि १६ जेठमा बजेटपछिको छलफल कार्यक्रममा अर्थमन्त्री शर्मा र गभर्नर अधिकार एउटै मञ्चमा देखिएपनि औपचारिक कुराकानी भने भएको थिएन ।

    बजेटले आगामी वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउने र मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । सरकारले लिएको लक्ष्यअनुसार नै आर्थिक वृद्धि गर्ने र मूल्य वृद्धि नियन्त्रणमा राख्ने योजना मौद्रिक नीतिले तय गर्छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार