बालेन र सुनिताले पहिलो बलमै हाने छक्का

बालेन र सुनिताले पहिलो बलमै हाने छक्का


प्रहार न्युज
  • शनिबार, असार ११ २०७९

  • काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयरमा निर्वाचित भएका बालेन्द्र साह उर्फ बालेनले पहिलो आर्थिक बर्षमै गज्जबको छनक देखाएका छन् । महानगरमा अहिले युवा नै मेयर उपमेयर छन् । उपमेयर सुनिताले पार्टीबाट चुनाव जितेपनि जोस, काम गर्ने मिसन, भिजनमा बालेन भन्दा कम छैनन् । यही कारण बालेन र सुनिताले पहिलो बलमै छक्का हानेका छन् । पहिलो आर्थिक बर्षमै ह्वात्तै बढाएर बजेट सार्वजनिक भएको छ ।

    काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । नगरसभामा उपमेयर सुनिता डंगोलले महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने बजेट २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार कायम भएको जानकारी दिइन् ।

    सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानीसहित स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने रकम कूल ३ अर्ब ५ करोड १ लाख ४७ हजार रुपैयाँ छ । स्थानीय सञ्चित कोषबाट खर्चहुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरुका लागि ५० करोड २१ लाख २४ हजार (२.२४ प्रतिशत) विनियोजन भएको छ ।

    कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार बिनियोजन गरिएको छ, जुन कुल बजेटको २०.९६ प्रतिशत हो । पूर्वाधार विकास क्षेत्रको लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट बिनियोजन गरिएको छ, जुन कुल बजेटको ४९.५७ प्रतिशत हुन आउँछ ।

    सामाजिक विकास क्षेत्रको लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार बजेट विनियोजन गरिएको छ, जुन कुल बजेटको ७.२५ प्रतिशत हो । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब ४६ करोड ५८ लाख ४० हजार बजेट बिनियोजन गरिएको छ, जुन कुल बजेटको १९.९६ प्रतिशत हुने उपप्रमुख डंगोलले जानकारी दिइन् ।

    नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब ३१ करोड ३७ लाख ६ हजारको श्रोत सुनिश्चित रहेको बजेट वक्तव्यमा उल्लेख छ । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को लागि रु २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

    नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ रु १ अर्ब ३१ करोड ३७ लाख ६ हजार, आन्तरिक आयतर्फ ११ अर्ब ९५ करोड बैंक मौज्दात समेत गरी कूल १६ अर्ब ८० करोड १ लाख रुपैयाँ स्रोत तोकिएको छ । राजस्व बाँडफाँटतर्फ ३ अर्ब ४१ करोड ३७ लाख ७३ हजार र समानीकरण अनुदानतर्फ ८४ करोड १९ लाख ७० हजार आम्दानी हुने प्रक्षेपण छ ।

    त्यसैगरी सामाजिक सुरक्षा भत्ता बापत संघीय सरकारबाट १ अर्ब ६५ करोड र प्रदेश सरकारबाट प्राप्त हुने कार्यक्रमहरुको लागि ५२ करोडसहित जग्गा एकीकरण आयोजनाको लागि ८८ करोड १ लाख ४७ हजारको आय प्रक्षेपण गरिएको छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार