ताइवानमा झन्झन् तनाव बढ्न थालेपछि देउवा सरकार उत्रियो एक्सनमा !

ताइवानमा झन्झन् तनाव बढ्न थालेपछि देउवा सरकार उत्रियो एक्सनमा !


प्रहार न्युज
  • शुक्रबार, साउन २० २०७९

  • काठमाडौं । ताइवानमा झन्झन् तनाव बढ्न थालेपछि शेर बहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार एक्सनमा उत्रिएको छ । देउवा सरकारले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न तनाव शान्तिपूर्ण रूपमै समाधान हुनुपर्ने बताएको हो ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल शान्तिप्रेमी राष्ट्र भएकाले त्यहाँको समस्या शान्तिपूर्वक नै सामाधन हुनुपर्ने पक्षमा रहेको बताइन्।

    परराष्ट्र मन्त्रालयले शुक्रवार सिंहदरवारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यही श्रावण २४ गतेदेखि २६ गतेसम्म मन्त्री खडका नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराएको हो ।

    चिनिया विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खडका नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनु भयो । उहाँले भ्रमणमा दुई मुलुकबीचको आपसी हीतका विविध विषयमा छलफल हुने बताउनु भयो ।

    प्रवक्ता लम्सालले भन्नुभयो, ‘छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री महामहिम वाङ यीको मैत्रीपूर्ण नियन्त्रणामा माननीय परराष्ट्रमन्त्री डा. नारायण खडकाज्यू ३ दिने चीन भ्रमणका लागि आगामी अगष्ट ९, २०२२ का दिन त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । उक्त भ्रमणका अवसरमा नेपाल र चीन दुवै पक्षबीच प्रतिनिधिमण्डल स्तरीय दिवपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुनेछ । गत मार्चमा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा माननीय परराष्ट्रमन्त्री ज्यूलाई चीन भ्रमणको नियन्त्रणा प्राप्त भएको थियो ।’

    परराष्ट्र मन्त्रालयले भ्रमणका एजेण्डाहरु पनि तय भइरहेको र भ्रमण सम्पन्न नभई ती विषयहरु सार्वजनिक गर्न हतार हुने पनि जनाएको छ । प्रवक्ता लम्सालले मन्त्री खडकाको चीन भ्रमणका क्रममा दुई मुलुकबीचको विविध विषयमा छलफल भएपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताउनु भयो ।

    प्र्रवक्ता लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको बताउनु भयो । उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा नेपाल सदैव ‘एक चीन नीति’को समर्थनमा रहेको पनि स्मरण गराउनु भयो । अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफनो मुलुकको सार्वभौमसत्ता र स्वाधिनतामाथिको आक्रमण भनेको छ ।

    प्रवक्ता लम्सालले एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालले यस घटनालाई नजिकबाट नियालीरहेको छ । नेपालले सदैव एक चीन नीति समर्थन गर्दै आएको छ ।

    दुवै मुलुकले एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएका छन । एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तराष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’ परराष्ट्र मन्त्रालयले नेपाल–चीन दुवै मुलुकले सदैव एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार