प्रहार न्युज

नयाँ वर्षसंगै अभिनेत्री दीपाश्री निरौलाका यस्ता छन् दुई नयाँ प्रतिबद्धता

काठमाडौँ — नयाँ वर्ष लागेसँगै अभिनेत्री दीपाश्री निरौलामा दुइटा परिवर्तन आउँनेछन् । एउटा, उनी सधैं ‘स्माइली’ फेसमा हुने छिन् भने, अर्को ‘साइलेन्ट’ मुडमा । नयाँ वर्षका लागि यी उनका प्रतिबद्धता हुन् । साइलेन्टको अर्थ बोल्दै न बोल्नेचाहिँ होइन ।

उनले वर्ष २०७४ का केही रचनात्मक आलोचनालाई गहिरो अध्ययन गरिन् । त्यस्तोमा ‘कम प्रतिक्रिया दिनु नै ठीक रहेछ’ भन्ने उनले पाठ सिकेकी छन् । ‘अब कम बोल्ने बोल्छु’, उनले भनिन्।

नयाँ वर्षसँगै ‘छक्का पञ्जा–३’ को सुटिङ पनि सुरु हँुदै छ । अझै राम्रो बनाउनुपर्ने चुनौती छ । र, यसैमा प्रतिबद्ध भएर काम गर्ने उनले बताइन् । कलाकारितासँगै समाजसेवीको छवि बनाएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को नयाँ वर्ष योजना थुप्रै छन् । तीमध्ये, महत्त्वपूर्ण ‘लर्डबुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम निर्माण’ रहेको छ । कलाकारितालाई पनि सँगै लैजाने योजना छ । सीतारामका अनुसार मुलुक चिनाउन खेल क्षेत्रले ठूलो योगदान दिइरहेको बेला नागरिकको हैसियतले यसको विकासमा उत्तिकै जिम्मेवार हुनुपर्छ । ‘यो वर्ष क्रिकेटकै नाममा,’ उनले भने।  साहित्यकार एवं समालोचक अर्चना थापा कहिल्यै पनि नयाँ वर्षको योजना बनाउँदिनन् । यसो भन्दैमा हरेक वर्ष नवीन काम गर्न भने छोडेकी छैनन् उनले । उनका अनुसार हरेक दिन नौलो छ । यो वर्ष अर्चनाले धेरैभन्दा धेरै किताब पढ्ने मुड बनाएकी छन् । त्यसलगत्तै पुरुष, महिला र सिमान्तकृत वर्गको आत्मपरक अनुभूति समेटेर पुस्तक निकाल्ने उनको प्रयास रहनेछ ।

रंगकर्मी राज शाहले नयाँ वर्षमा नयाँ नाटक देखाउने भएका छन् । ‘जनयुद्ध जारी छ’ नाम दिइएको नाटकको लेखन र यसमा अभिनय गर्ने कलाकारहरू फाइनल गरिसकेका छन् उनले । अन्य समुदायका मातृभाषामा नाटक मञ्चन गर्ने राजको अर्को योजना हो । ‘नेवार, मैथिली, राई, लिम्बू जुन पनि हुन सक्छ,’ उनले भने, ‘भाषिक र संस्कृति झल्कने नाटक बनाउने चाहना छ, यसैपालि तयार पार्छु ।’

चित्रकार दम्पती सविता डंगोल र इशान परियारले रंगमै आबद्ध भएर संयुक्त योजना बुनेका छन् । इशानले पानी र डुंगा प्रतिविम्बित थिममा आफ्ना चित्र सिर्जना गर्दै आएका छन् भने सविनाले नेवार संस्कृति झल्कने आकृतिहरूमा । अन्तरजातीय बिहे गरेका यी दुईले यो वर्षमा कलाकारितालाई फरक थिममा लैजाने योजना बनाएका छन् । आफूहरूका सिर्जनाले समाज रूपान्तरणमा सहयोग पुगोस् भन्ने इशानको धारणा छ । त्यसैले उनले पानी र डुंगामार्फत सामाजिक विभेदविरुद्धको भाव प्रकट गर्दै छन् । ‘पानीको छाल परिर्वतनको संवाहक हो,’ इशान भन्छन्, ‘हाम्रा कलाले समाजको मुहार फेरिदिए हुन्थ्यो भन्ने चाहन्छौँ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology