प्रहारन्युज डेक्स

यो कस्तो संस्कार ? दाइजो नदिए पछी तीन महिने गर्भवती भइन घर निकाला

श्रीमानले गर्भको बच्चा मार्ने औषधि खा भन्दै कुटपिट गरेपछि उनी थप समस्यामा

बुटवल । रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले दाइजो नल्याएको निहुँमा कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन् ।

दाइजोको बहानामा रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई कुटपिट गरिएको हो ।

१९ वर्षीया शारदाले २४ वर्षीय हेमन्त भट्टराईसँग मंसिर २८ गतेमागीविवाह गरेकी थिइन् । माइती र घरपक्षको सरसल्लाहमै बिहे भएको तीन दिनदेखि नै यातना पाएकी उनी सहनै नसक्ने भएपछि प्रहरीमा उजुरी दिएकी हुन् । ‘बिहे गरेर घर आएको तीन दिनबाटै पिटाइ खाएकी हुँ’, उनले भनिन्, ‘सहनै नसक्ने भएपछि प्रहरीलाई खबर गरें ।’

मादकपदार्थ सेवन गर्ने श्रीमानले कुट्ने र सासूले उस्काउने गरेको उनको गुनासो छ । बिहे भएकी नन्दले समेत अपशब्दले गाली गर्ने गरेको उनले बताइन् । पहिलोपटक फागुन २५ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन उनी उजुरी बोकेर इलाका प्रहरी कार्यालय सालझण्डी पुगेकी थिइन् । आठौं पटकसम्म प्रहरी चौकीमा पुग्दासमेत उनले न्याय पाएकी छैनन् ।

कक्षा १० पढ्दै गर्दा बिहे गरेकी उनलाई घरबाटै निस्कन यसअघिदेखि नै धम्की दिँदै आएका थिए । विदेशमा रोजगारी गर्ने श्रीमान्ले मदिरा खाएर अभद्र व्यवहार गर्दा परिवारका अन्य सदस्यले झन् उस्काएपछि थप पीडामा परेकी हुन्। दुई दिनदेखि आफन्तको घरमा आश्रय लिएकी उनले आफ्नो र गर्भको बच्चाको सुरक्षा गरिदिन माग गरेकी छन् । ‘प्रहरीमा पुग्दा मिलेर बस्नू भन्दै पठाउँछन् । घरमा टिक्ने अवस्था भएन’,–उनले भनिन्। श्रीमानले केही समयअघि गर्भको बच्चा मार्ने औषधि खा भन्दै कुटपिट गरेपछि उनी थप समस्यामा परेकी छन् । ‘पेटको बच्चा मारेर घर छाडेर जा’, श्रीमानको भनाइ उद्धृत गर्दै उनले भनिन् ।

आठौं पटक प्रहरीमा पुगेकी उनलाई प्रहरीले नै मेलमिलाप गर्न भन्दै वडा कार्यालयमा पठाएको थियो । तीन दिनदेखि मेलमिलाप गराउने भन्दै छलफल भइरहेको छ। पीडक पक्ष नै मिलापका लागि राजी नदेखिएको बताइएको छ । प्रहरीसँग हिंसा गर्दिनँ भन्ने तर घर पुग्नासाथ कुट्ने गरेको शारदाले बताइन् । श्रीमानको कुटाइले शरीरका अंगसमेत सुन्निएका छन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology