प्रहारन्युज डेक्स

बालकृष्ण ढुंगेललाई रिहाई गर’ जस्ता नारा लगाउदै विप्लवका कार्यकर्ताले फोडे उज्जनको शालिक

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रामेछापको लिखु तामाकोसी गाउँपालिका-४ स्थित अरुणदय माविको हाताभित्र निर्मित उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन् । श्रेष्ठको शालिक बुधबार मध्यराति नेकपाका कार्यकर्ताले तोडफोड गरेर ढालेका हुन् ।

स्थानीयका अनुसार ‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्दैनौं, बालकृष्ण ढुंगेललाई रिहाई गर’ जस्ता नारा लगाउदै आएका नेकपाका कार्यकर्ताहरुले शालिक तोडफोड गरेका हुन् । उज्जनको शालिक गत सोमबार अनावरण गरिएको थियो ।

जनयुद्धकालीन मुद्दा ब्युँताएर बालकृष्ण ढुंगेललाई जेल हालेको, विद्यालय हाताभित्र शालिक निर्माण गरेको र शालिक निर्माणको नाममा विदेशी डलर ल्याएकोले तोडफोड गर्नुपरेको नेकपाले जनाएको छ । शालिकको केही दिन पहिलेमात्रै अनावरण गरिएको थियो ।

माओवादीद्वारा हत्या गरिएका ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको मुद्दामा बालकृष्ण ढुंगेललाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । त्यही फैसलापछि हाल ढुंगेल डिल्लीबजार कारागारामा छन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology