प्रहारन्युज डेक्स

  • १४

रोमाको र लिभरपुलको सनसनीपूर्ण जित, बार्सिलोना र सिटी च्याम्पियन्स लिगबाट बाहिरियो

पछिल्लो १० वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलले स्थान बनाएको छ । मंगलबार राति सिटीलाई २-१ ले हराएको लिभरपुलले समग्रमा ५-१ को शानदार जित निकाल्यो ।

पहिलो लेगमा ३-० को हार व्यहोरेको सिटीले घरेलु मैदान इत्तेहाद स्टेडियममा राम्रो सुरुवात गरेको थियो । उसका लागि गाब्रियल जेसिसले दोस्रो मिनेटमा नै गोल गरेका थिए ।

बर्नान्डो सिल्भाको प्रहार पोष्टमा लागेर बाहिरियो भने सानेको गोल, जसलाई सिटीले महत्वपूर्ण दोस्रो मानेको थियो, लाई रेफ्रीले अफसाइड दिए । सिटीका प्रशिक्षक पेप ग्वार्डिओला रेफ्रीसँग विवाद गर्न मैदानमा प्रवेश गरेका थिए ।

दोस्रो हाफमा लिभरपुल हावी भयो । ५६ औं मिनेटमा मोहम्मद सलाहले गोल बराबरी गोल गरे भने ७७ औं मिनेटमा फिर्मिनोले गोल गर्दै जित दिलाएका छन् ।

खेल अघिसम्म सलाहको खेल्न सक्ने नसक्नेमा अन्यौल जस्तै थियो । पहिलो लेगमा उनी सब्सिच्युट भएका थिए । तर, दोस्रो लेगमा पनि गोल गर्दै लिभरपुलको विजयी यात्रामा योगदान गरे ।

यसै गरी हिलो लेगमा व्यहोरेको ४-१ को हारलाई बिर्साउँदै इटायिलयन क्लब रोमाले बार्सिलोनामाथि सनसनीपूर्ण जित निकालेको छ र च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार राति भएको खेलमा रोमाले बार्सिलोनाले ३-० गोल अन्तरले हराएको हो । समग्रमा ४-४ गोल भएपनि अवे गोलका आधारमा रोमा सेमिफाइनलमा पुग्यो भने बार्सिलोना बाहिरियो ।

घरेलु मैदानमा भएको खेलमा रोमाले छैटौं मिनेटमा इडेन जोकोको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो ।

खेलको ५८ औं मिनेटमा पाएको पेनाल्टीमा डि रोसीले गोल गरे भने निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा मानोलसले निर्णायक गोल गरे ।

रोमाका खेलाडीहरुको तीव्र गति र उर्जावान प्रदर्शनका सामू ला लिगाको लिडर बार्सिलोना निरिह जस्तै देखिएको थियो ।

च्याम्पियन्स लिगको दोस्रो लेगमा सनसनीपूर्ण पुनरागमन गर्ने रोमा तेस्रो टिम हो । २००४ मा डिपोर्टिभोले एसीमिलानविरुद्ध र गत सिजन बार्सिलोनाले पीएसजीविरुद्ध यस्तै जित निकालेको थियो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology